छात्रवृत्ति कोष उद्घाटन

मिस मंगोल छात्रवृत्ति कोषको भव्य कार्यक्रमवीच काठमाडौंमा उद्घाटन गरिएको छ । आर्थिक अभावले विद्यालय जान नसकेका बालबालिकाको शिक्षाका लागि मिस मंगोल नेपाल २०१८ का विजेताले सुरु गरेको यस कोषको न्युनतम लक्ष्य ५० लाख रुपैयाँ तय गरिएको छ । विद्यार्थी राजनीतिबाट उदाएका प्रभावशाली युवानेता एवं सांसद योगेश भट्टराईको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिको उपस्थिती थियो ।

उद्घाटन समारोहमा सांसद भट्टराईले पवित्र सोच र लक्ष्यका साथ कोष सुरु गरिएकोमा बधाई तथा शुभकामना दिए । ‘मिस मंगोल नेपालका विजेताले यो उमेरमै यति महान कामको थालनी गर्नु नयाँपुस्ताका लागि साँच्चिकै उदाहरणीय काम हो’, प्रमुख अतिथी भट्टराईले भने, ‘यो अभियान सफलताका लागि उहाँहरुलाई शुभकामना छ ।’ सो अवसरमा सांसद भट्टराईले व्यक्तिगत तर्फबाट कोषलाई ५० हजार रुपैयाँ पनि सहगोग गरेका थिए ।

कार्यक्रममा कोषका संस्थापक एवं एक्सन इन्टरटेनमेन्ट प्रालीका अध्यक्ष अशोकप्यासी राईले यो अभियानमा धेरै असहाय बालबालिकाको भविश्य जोडिएको बताए । कोषका अध्यक्ष एवं मिस मंगोल नेपाल २०१८ की विजेता जाङमु शेर्पा, फस्ट रनरअप प्रीति गुरुङ र सेकेन्ड रनरअप पुनम शेर्पाले अहसाय बालबालिकाको शिक्षाका लागि सुरु गरिएको अभियानमा सबैलाई सहभागी हुन आग्रह गरे । ‘आर्थिक अभावकै कारण विद्यालय जान नपाउनु दुखको कुरा हो । हामी सबै मिलेर त्यस्ता असहाय बालबालिकालाई विद्यालय जाने वातावरण सिर्जना गरौं’, जाङमुले भनिन् ।

कार्यक्रममा कोष उद्घाटन अगावै आर्थिक सहयोग गर्ने विभिन्न समाजसेवीलाई ‘मिस मंगोल स्कलरसिप अनर–२०१८’ प्रदान गरिएको थियो । यो सम्मान पाउनेमा नेपाल शेर्पा एसोसिएसनका अध्यक्ष आङ दोर्जे शेर्पा, नेपाल शेर्पा वुमन एसोसिएसनका अध्यक्ष श्री निमी शेर्पा, सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पा, व्यावसायी पेम्बाकाजी शेर्पा, एभरेस्ट हार्डवेयरका सञ्चालक सोनाम शेर्पा, पायोनियर एड्भेन्चर ट्रेक्सका फाउण्डर लाक्पा शेर्पा रहेका छन् ।

त्यसैगरी समाजसेवी तेम्बा शेर्पा, एसियन ट्रेकका फाउन्डर आङ छिरिङ शेर्पा, समाजसेवी लाक्पा शेर्पा, ट्याग नेपाल ट्रेक्स एन्ड एक्स्पेडिसनका सञ्चालक पासाङ टेन्डी शेर्पा, डिस्कभरी माउन्टेन ट्रेक एन्ड एक्सपेडिसनका सञ्चालक आङ छिरी शेर्पा, सेभेन समिट क्लवका फाउन्डर मिङमा गेलु शेर्पा छन् । त्यसैगरी होटेल कमलाक्षी प्यालेस, एसियन स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा लोकगायक तुलसी पराजुली, गायक लाक्पा शेर्पा, पपगायक धीरज राई, लोकगायक कमलीकान्त भेटवाल, गायिका प्रमिला राई, नृत्यकार लोमु शेर्पालाई पनि सम्मान गरिएको थियो । कोष उद्घाटनका अवसरमा नेपालका चर्चित कलाकारको सांगीतिक प्रस्तुती पनि रहेको थियो । गायक लाक्पा शेर्पा, तुलसी पराजुली, धीरज राई, कमलीकान्त भेटवाल, प्रमिला राईले आआफ्नो चर्चित गीत प्रस्तुत गरी उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिए ।

Kosh udghatan
Kosh udghatan
Miss Mongol Scholarship Fund | Head Office: Anamnagar, Kathmandu (Nepal)
Ph: 9823579688 | Web: www.missmongolscholar.com | Email: missmongolscholar@gmail.com