५० लाखको छात्रवृत्ति घोषणा

मिस मंगोल नेपालका विजेताले ५० लाख रुपैयाँको छात्रवृत्ति कोष घोषणा गरेका छन् । मिस मंगोल नेपाल– २०१८ जाङ्मु शेर्पा, फस्ट रनरअप प्रीति गुरुङ र सेकेन्ड रनरअप पुनम शेर्पाको संयुक्त पहलमा कोष घोषणा गरेका हुन् । असहाय एवं आर्थिक अभावले विद्यालय जान नपाएका बालबालिकालाई कोषमार्फत छात्रवृत्ति उपलब्ध गराइनेछ । यो छात्रवृत्ति राजधानी वा मोफसलमा अध्ययनरत विद्यार्थीलाई जुनसुकै कक्षाबाट एसईईसम्मका लागि दिइनेछ ।

नेपाली सौन्दर्य प्रतियोगिताको भीडमा पृथक् पहिचान बनाएको मिस मंगोलका विजेताले सबैका लागि शिक्षा भन्ने लक्ष्यका साथ सुरु भएको यो कोषबाट छात्रवृत्ति प्रदान सुरु भइसकेको छ । कोषको मुख्य स्रोत ‘डोनेसन’ र ‘फन्ड राइजिङ च्यारिटी प्रोग्राम’ हुने मिस मंगोल नेपाल २०१८ की विजेता जाङ्मु शेर्पाले जानकारी दिएकी छन् । ‘मिस मंगोलको उपाधि जितेपछि पाएको सामाजिक पहिचान र जिम्मेवारीलाई आत्मसात् गर्दै समाजका लागि केही न केही काम गर्नुपर्छ भन्ने लागेर यो अभियान आरम्भ गरेका हौं’, उनले भनिन् ।

फस्ट रनरअप प्रीति गुरुङले कोषलाई पारदर्शी र विश्वव्यापी बनाउन बेभसाइट निर्माण गरी सबै जानकारी राखिने जानकारी दिइन् । ‘कोषको आधिकारिक वेभसाइटमा दाताको विवरण, कोषमार्फत अध्ययन गर्ने छात्रछात्रा, कोषका गतिविधि सबै राख्नेछौं’, प्रीतिले भनिन् । प्रीतिका अनुसार यो कोषका लागि विश्वभरका जो कोहीले अनुदान दिन र वेभसाइटमार्फत जानकारी लिन सक्नेछन् ।

प्रतियोगिताकी सेकेन्ड रनरअप पुनम शेर्पाले यो कोषमार्फत विद्यालय जान नपाएका धेरै बालबालिकाले पढ्ने मौका पाउने बताइन् । ‘अहिलेको समयमा पढ्न पनि नपाउनु दुर्भाग्य हो । त्यसैले चाहेर पनि विद्यालय जान नपाएका बालबालिकाका लागि अभियान आरम्भ गरेका हौं’, उनले भनिन् । यो अभियानले नेपाली सौन्दर्य प्रतियोगितालाई नयाँ उचाइमा पु¥याउने पनि उनले विश्वास व्यक्त गरिन् । एक्सन इन्टरटेनमेन्टको आयोजनामा हुँदै आएको मिस मंगोल नेपालले १०औं वर्ष पूरा गरेको छ ।

Miss Mongol Scholarship Fund | Head Office: Anamnagar, Kathmandu (Nepal)
Ph: 9823579688 | Web: www.missmongolscholar.com | Email: missmongolscholar@gmail.com